टेकुमा एक हजार ५३८ जना एचआइभी सङ्क्रमित !
काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हजार ५३८ जनाले नियमित रुपमा एचआइभीको औषधि सेवन गरिरहेका छन् ।
विसं २०५० बाट औषधि खुवाउन सुरु गरेको अस्पतालमा हालसम्म तीन हजार ७८१ जना बिरामीले एचआभी एड्स सङ्क्रमणको औषधि सेवन गरिसकेका छन् ।
अस्पतालका डा अनुप बास्तोलाले तीमध्ये एक हजार ३६० बिरामीलाई घरपायक औषधिको व्यवस्था मिलाई घर पठाइएको र ९० जना बिरामीको मृत्यु भइसकेको जानकारी दिए ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेलका अनुसार उपत्यकामा सुईद्वारा लागू पदार्थ सेवन गर्नेमध्ये ६।३६ प्रतिशत एचआइभी सङ्क्रमित छन् ।
उनले भने, ‘‘प्रत्येक २०० नेपाली युवामा कम्तीमा एकजनालाई एचआइभीको सङ्क्रमण छ । तीमध्ये धेरै लागू औषधको सेवन गर्ने, धेरै जनासँग असुरक्षित यौन सम्र्पक राख्ने संक्रमणको बढी जोखिममा छन् ।’’
उनले अनुमानित एक हजार ९६८ बालबालिकामा एचआइभीको सङ्क्रमण भएको उल्लेख गरे । सन् २०१५ को अनुमानित तथ्याङकअनुसार ३९ हजार ४९४ जनामा एचआइमी सङ्क्रमित छन् । तीमध्ये ०।२० प्रतिशत युवा रहेका छन् ।
केन्द्रका तथ्याङक अधिकृत वीरबहादुर रावलले केन्द्रले हालसम्म २७ हजार ४९४ जनामा एचआइभीको सङ्क्रमण भएको पाइएको र ११ हजार ९२२ जनाले औषधि खाइरहेको जानकारी दिए ।
निर्देशक डा पौडेलले सङ्क्रमित भइसकेका तर परीक्षणमा नआएका व्यक्तिको अवस्था थाहा पाउनु र उनीहरुबाट अन्य व्यक्तिमा सङ्क्रमण हुनबाट जोगाउनु चुनौती भएको बताए ।