राष्ट्रपति भण्डारीको कुनै औपचारिक भ्रमण थिएन, मध्यप्रदेश यात्रा रद्द
राष्ट्रपति भण्डारीको उज्जैन यात्राका सम्बन्धमा भारतको संघीय सरकारले औपचारिक भ्रमणको स्वरूप प्रदान गर्न अनिच्छा व्यक्त गरेपछि र मन्त्रीपरिषद्ले अनुमोदन नगरिँदा भण्डारीको कुम्भमेला यात्रा नहुने भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयका परराष्ट्रविज्ञ गोपाल खनालले आवश्यक तयारी नपुगेकाले राष्ट्रपतिको भारत भ्रमण स्थगित भएको बताए । ‘राष्ट्रपतिज्यूको भारत भ्रमणका लागि तयारीका केही काम बाँकी नै थिए’, उनले भने, ‘नेपालबाट ‘हेड अफ द स्टेट’ जाने भएकाले भ्रमणलाई विशेष रूपमा लिइएको थियो । यो भ्रमण तयारी नपुगेकै कारण रद्द भएको हो । यसमा अरू कुनै कारण छन् भन्ने मलाई लाग्दैन ।’
परराष्ट्र स्रोतका अनुसार नयाँ दिल्लीस्थित राजदूत दीपकुमार उपाध्यायमार्फत राष्ट्रपतिको भ्रमण रद्दको सूचना भारतीय परराष्ट्र मन्त्रालयलाई शुक्रबारै दिइसकिएको छ । राष्ट्रपतिको भ्रमण तत्काललाई नेपाल सरकारबाटै रद्द गरिएको अवस्थामा भ्रमणको अर्को मितिबारे दुबै पक्षले केही बोलेका छैनन् ।
मध्यप्रदेशको कुम्भ मेलामा सहभागी भएपछि उनी नयाँदिल्ली भ्रमणमा जाने कार्यक्रम तय भएको थियो भने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज र कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायत विभिन्न भारतीय राजनीतिक दलका नेतासँग भेट्ने कार्यक्रम बनेको थियो ।
यसअघि चार महिना लामो नाकाअवरोध खुलेपछि गत फागुन ७ देखि ११ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको औपचारकि भ्रमण गरेका थिए । त्योबेला पनि ओलीले दुई देशबीचको राजनीतिक असमझदारी अन्त्य भएको धारणा व्यक्त गरेका थिए ।